मुख गन्हाउनु केवल व्यक्तिगत स्वास्थ्य समस्या मात्र होइन। मुखबाट दुर्गन्ध आउने मानिसलाई अरुले गर्ने व्यवहारका कारण उत्पन्न हुने मनोवैज्ञानिक पीडा निकै दुःखदायी हुन्छ किनकी मुखबाट दुर्गन्ध आउने मानिससँग अरु मानिस नजिकिन चाँहदैनन्। सधैं टाढै रहन खोज्ने हुनाले त्यस्ता मानिसको सामाजिक सम्बन्ध समेत कमजोर बन्दछ। आफ्नो मुखबाट दुर्गन्ध आएको कुरा आफैंले गन्ध सुँघेर महसुस गर्न त सकिन्छ नै आफूसँग नजिक भएको वा कुराकानी गरेको बेलामा कसैले अनुहार बिगार्याे वा टाउको फर्कायो भने पनि बुझ्नुपर्छ कि आफ्नो स्वास गन्हाइरहेको छ। वास्तवमा मुखबाट दुर्गन्ध आउनु कुनै ठूलो रोग होइन, सामान्य समस्या हो। सयमा ९५ जना मानिसले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मुखबाट दुर्गन्ध आउने समस्या भोगेकै हुन्छन्। मुखबाट दुर्गन्ध आउनु वा स्वास गन्हाउनुका कारणहरु यी हुन् : –

१) खानपान : – लसुन, प्याज तथा मूलाजस्ता तरकारीहरु खान त मज्जा हुन्छ र खाइसकेपछि त्यसको तीखो गन्धले भने छाड्दैन। यद्यपि मुखबाट मात्र आउने लसुन, प्याज, मूला आदिको यस्तो गन्ध क्षणिक हुन्छ। मुखबाट दुर्गन्ध आउने दीर्घकालीन समस्याको मुख्य कारण भनेको पाचन क्रियाको गडबडी नै हो। जब पेटमा राम्ररी खाना पच्दैन तब पेटमा भएका विभिन्न खाले जिवाणुहरुले खानालाई टुक्राउँदछन्। त्यसबाट उत्पन्न हुने ग्यास पेटबाट अन्न नलीहुँदै मुख वा नाकबाट बाहिर निस्किन्छ। पाचन क्रियाको गडबडीले निस्कने यस्तो श्वास दुर्गन्धयुक्त हुन्छ।

२) डाइटिङ : – मोटोपना घटाउनका लागि के तपाइँले खानामा कार्बोहाइड्रेट निकै घटाइरहनु भएको वा खानेकुराको मात्रा नै घटाइरहनु भएको त छैन? यदि त्यसो गरिरहनुभएको छ भने तपाइँको मुखबाट दुर्गन्ध आउने खतरा बढि हुन्छ। डाइटिङ गर्ने वा खानामा कार्बो हाइड्रेटको मात्रा निकै घटाउँदा शरीरमा कार्बोहाइड्रेट अपुग हुन्छ। यसो हुँदा शरीरका दैनिक क्रियाकलापका लागि आवश्यक ऊर्जा निकाल्नका लागि कलेजोले जिउको बोसोलाई गाल्ने काम गर्छ, जसलाई किटोसिस भनिन्छ। यो प्रक्रियामा शरीरको बोसो निकै घट्न थाल्छ र शरीरमा कार्बाेहाइड्रेट र प्रोटिनको मात्रा समेत कम हुँदै जान्छ। विज्ञहरुका अनुसार शरीरमा आवश्यकता भन्दा कम बोसो भयो भने मुखबाट दुर्गन्ध आउन थाल्छ। लामो समयसम्म भोकै रहेको बेला, विहान अबेरमात्र खाना खाएको समयमा वा ब्रत बसेको समयमा प्रायः मानिसको स्वास गन्हाउने कारण यही हो।

३) लापरबाही : – मुखबाट दुर्गन्ध आउनेमध्ये ९० प्रतिशतमा यो समस्या देखिनुको कारण उनीहरुको लापरबाही नै हो। मानिसको मुखमा विभिन्न दुई सय प्रकारका ब्याक्टेरिया पाइन्छन्। यी जीवाणुहरु दाँत, जिब्रो तथा मुखका अन्य भागमा पाइन्छ। यदि मुखको स्वास्थ्यमा ख्याल गरिएन, नियमित रुपमा दाँत माझ्ने, मुख सफा गर्ने, खाना खाइसकेपछि कुल्ला गर्ने गरिएन भनि ती जीवाणुले मुखमा जम्मा हुने फोहोरलाई कुहाउने र त्यसबाट दुर्गन्ध निस्किने जोखिम हुन्छ। दाँत किराले खानु, घाँटीको इन्फेक्सन तथा पिनास लगायतका स्वास्थ्य समस्याका कारण समेत मुखबाट दुर्गन्ध निस्किने गर्छ।

४) मुखमा सुख्खापनः– कामको धपेडी, लामो समयसम्म पानी नपिउनु, डराएको वा आत्तिएको अवस्था वा चर्काे घाममा लामो समय हिँडडुल गर्दा मुख सुक्नु सामान्य हो। धूमपान, मदिरापान तथा धुँवाजन्य वातावरणमा लामो समय बस्दा समेत मुख सुख्खा हुन्छ। मुख सुख्खा हुनु भनेको मुखको ग्रन्थीले र्यालल उत्पादन पर्याप्त नगर्नु हो। मुख सुख्खा हुनाले समेत मुखबाट दुर्गन्ध निस्किन्छ। यसरी मुखबाट दुर्गन्ध आउने गरेमा त्यसबाट छुटकारा पाउने केही उपायहरु तल छन्ः–

–  बिहान तथा बेलुकी गरी दिनको दुई पटक राम्रोसँग दाँत माझ्ने। बेलुकीको खानामा सकेसम्म प्याज, लसुन, माछा, मासु जस्ता खानेकुराहरु नखाने।
–  पर्याप्त पानी पिउने। दिनमा कम्तिमा पनि १० गिलास पानी पिउनु अत्यावश्यक हुन्छ।
–  बिहान लामो समयसम्म भोकै नबस्ने। पौष्टिक खाजा खाने।
–  मुखबाट बढि नै गन्ध आउँछ भने तुलसीको पात चपाएर रस निल्ने।
–  भोजनपछि आधा चम्चा सोँफ चपाउनु राम्रो हुन्छ। यसले दुर्गन्ध हटाउनुका साथै पाचन क्रियालाई समेत सुधार्छ। सुगर फ्रि चुइंगम चपाउनु पनि मुखको दुर्गन्ध कम गर्ने अर्काे सजिलो उपाय हुनसक्छ।
– मुखबाट दुर्गन्ध आउने समस्या बढि नै हुनथाल्यो भने दन्तचिकित्सकसँग जाँच गराउनु उपयुक्त हुन्छ।

Post a Comment

 
Top