काठमाडौँ, ३२ जेठ । गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्त रुद्र आचार्यलाई नेपाल फर्काउन प्रहरीलाई दबाब दिइएको छ ।

प्रहरीले आचार्यको नाममा रेड कर्नर नोटिस जारी गरे पनि बेलायतमै लुकेर बसेपछि कृष्णकी आमा गंगामाया अधिकारीले प्रहरीलाई गुहारेकी हुन् । गंगामायाले वीर अस्पतालको शैयाबाट नेपाल प्रहरीका सूचना अधिकारीलाई लेखेको पत्र एड्भोकेसी फोरमका अधिकारकर्मी विकास बस्नेतले प्रहरी प्रधान कार्यालय नक्सालमा दर्ता गराएका छन् ।

‘निजलाई आजसम्म पक्राउ गर्न नसक्नुको कारण के हो र निजलाई नेपाल सरकारसमक्ष सुपुरदर्गी गर्न गराउन नेपाल प्रहरीको तर्फबाट किन बिलम्ब भएको हो ? गंगामायाको प्रश्न छ ।’

आफ्ना छोराका हत्यारालाई कारबाही गर्न माग गर्दै वीर अस्पतालमा आमरण अनशन बसेका नन्दप्रसाद अधिकारीको अनशनकै क्रममा निधन भएको थियो । आमा गंगामाया पनि सिकिस्त अबस्थामा छिन् ।

यस्तो छ गंगामायाले प्रहरी प्रधान कार्यालयलाई लेखेको पत्र:

मिती :  २०७२। २। ३१

श्रीमान् सुचना अधिकारी ज्यू,
प्रहरी प्रधान कार्यालय,
नक्साल, काठमाण्डौं

बिषयः सुचना उपलव्ध गराई पाउँ ।

महोदय,

म निबेदीका लाग्ने दस्तुर यसै साथ राखी निम्न बमोजीम निबेदन गर्दछु ।

उपरोक्त सम्बन्धमा म निबेदिकाको कान्छो छोरा फुजेल गा.बि.स. ८, गोरखाका कृष्ण प्रसाद अधिकारीलाई २०६१ साल जेष्ठ २४ गते चितवन जिल्ला रत्ननगर न.पा. स्थित बकुलहर चोकमा छबिलाल पौडेल, भिमसेन पौडेल समेतका व्यक्तिहरुले कर्तव्य गरि मारेकोले कार्बाही गरीपाउ भनि म निबेदिकाका पति नन्द प्रसाद अधिकारी र जेठा छोरा नुर प्रसाद अधिकारीले समेत जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दरखास्त दिनु भएकोमा बर्षौ सम्म सरकारले मुद्धा नै नचलाएकोले जाहेरवाला निज पती नन्द प्रसाद अधिकारी र म निबेदीकाले ठुलो संर्घष गर्नु परेको तथा राष्ट्रिय, अन्तराष्ट्रिय दबाबमा परेपछि मात्र सरकारले मुद्धा चलाएकोमा प्रतिबादी पर्शुराम पौडेल समेतका अभियुक्तलाई तारेखमा छाडीएको अबस्थामा हामी पती पत्नी दुबैले अनसनमा बस्नु परेको र अनशन बस्दा बस्दै पती नन्द प्रसाद अधिकारीको मृत्यु समेत भई सकेको छ । जाहेरवाला मध्येका जेठा छोरा नुर प्रसाद अधिकारी समेत माओबादीको डरत्रासमा संचार सम्पर्क बिहीन भई बसेको अबस्थामा श्री चितवन जिल्ला अदालतबाट मुख्य अभियुक्त छबीलाल पौडेल समेतलाई तारेखमा छाडेको देखीएको हुदाँ मेरो परीवारले न्याय नपाउने निश्चीत जस्तो भएकोले म निबेदीका समेत न्यायप्राप्तीको लागी आमरण अनसनमा बस्ने निर्णय गरी सकेको ब्योहरा बिनम्र अनुरोध गर्दछु ।

अनुसंन्धानको क्रममा मृतक छोरा कृष्ण प्रसाद लाई गोली हानी हत्या गर्ने मध्येका रुद्र आचार्य बेलायतमा रहेको भन्ने देखीएकोमा उक्त मुद्दाको अभियूक्त मध्येका निज रुद्र आचार्य फरार रहेको र निजको हकमा नेपाल प्रहरीको इन्टरपोल बिभागवाट जारी गरेको रेड कर्नर नोटिसमा अभियुक्त निज रुद्र आर्चायको बिबरण सार्वजनिक भएको देखीएको हुँदा निज अभियूक्तको बारेमा जारी गरिएको रेड कर्नर नोटिसको सम्बन्धमा के कस्तो प्रगति भएको छ, निजलाई आजसम्म पक्राउ गर्न नसक्नुको कारण के हो र निजलाई नेपाल सरकार समक्ष सुपुरदर्गी गर्न गराउन नेपाल प्रहरीको तर्फबाट किन बिलम्ब भएको हो ? सो सम्बन्धमा यथार्थ जानकारी समेत उपलव्ध गराई पाउँन मृतकको आमाका नाताले नेपालको अन्तरिम संबिधान, २०६३ को धारा २७ तथा सुचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ वमोजिम प्रस्तुत निबेदन पेश गरेकी छु ।

अत म निबेदीका हाल ट्रमा सेन्टर बिर अस्पताल, काठमाण्डौमा अनसनरत भई अस्वस्थ भएकोले म स्वयम् निबेदन दर्ता गर्न यस कार्यलयमा उपस्थित हुन नसक्ने भएको हुदाँ उपरोक्त सुचना यथाशिघ्र उपलव्ध गराई पाउँ भनि मेरो प्रतिनिधी बिकास बस्नेतलाई निजको परिचयपत्र साथमा राखी निबेदन पेश गर्न पठाएको छु । निज मार्फत म निबेदीका लाई उपरोक्त सुचना उपलव्ध गराई मेरो सम्बैधानीक सुचनाको हक सुनिश्चीत गरी पाउँ ।

निबेदिका
गंगामाया अधिकारी
फुजेल , ८ गोरखा
हाल ट्रमा सेन्टर बिर अस्पताल, काठमाण्डौं

Post a Comment

 
Top